बेलकोटगढी नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न



नुवाकोट, जेठ २४ – नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा सम्पादन गरेका विकास निर्माणका काम, नागरिकलाई प्रदान गरिएका सेवा तथा सुविधा र समग्र नगरपालिकाको अवस्था सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ।

शनिबार नगरपालिकाको कार्यालय प्राङ्गण बाघखोरमा सम्पन्न उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाल, प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजलवट, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखहरू तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा नगरबासी नागरिकहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, शिक्षक, व्यावसायी र अन्य सरोकारवाला व्यक्तिहरुको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

सुनुवाईका क्रममा नगर प्रमुख गुरुङले चालु आर्थिक वर्षमा नगरपालिकाले प्राथमिकता दिएका योजना, कार्यक्रम र जनसरोकारका सेवाहरुको अवस्थाबारे जानकारी गराउँदै जनप्रतिनिधिहरू जनउत्तरदायी र पारदर्शी शासन प्रणालीप्रति प्रतिबद्ध रहेको बताए। कार्यक्रममा सहभागी सर्वसाधारणहरुले विभिन्न विषयमा जिज्ञासा राख्दै आफ्ना गुनासाहरु प्रस्तुत गरेका थिए। सोही अनुरूप सम्बन्धित शाखा प्रमुख तथा जिम्मेवार व्यक्तिहरुले प्रत्यक्ष जवाफ दिँदै गुनासा समाधानको प्रतिबद्धता जनाएका थिए।

यस प्रकारको सार्वजनिक सुनुवाईले स्थानीय शासन प्रणालीलाई अझ पारदर्शी, जवाफदेही र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्