नुवाकोट पञ्चकन्याको विभिन्न वडामा सीपमूलक तालिम सम्पन्न

नुवाकोट,जेठ २५— जिल्लाको पञ्चकन्या गाउँपालिकाको विभिन्न वडामा बागमती प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा सञ्चालित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा गृहिणी महिला सशक्तीकरण तथा विपन्न दलित सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमहरू सम्बन्धित वडाका वडा अध्यक्षको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष विमला के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत विभिन्न वडाहरूमा सीपमूलक तालिम सञ्चालन गरिएको थियो।
वडा नं १ र २ मा जुत्ता बनाउने तालिम सञ्चालन गरियो भने वडा नं ३ मा साबुन तथा अचार बनाउने तालिम प्रदान गरिएको थियो। तालिममा सहभागी महिलाहरूले यस्ता कार्यक्रममार्फत आफूहरूलाई आत्मनिर्भर बन्ने अवसर मिलेको अनुभव साटासाट गरेका थिए।
स्थानीय स्तरमै सीप विकासका यस्ता कार्यक्रमहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै स्वरोजगारको बाटो खोल्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। कार्यक्रमको सफलताप्रति सहभागीहरूले प्रदेश सरकार र गाउँपालिकालाई आभार प्रकट गरेका थिए।