त्रिभुवन राजपथ स्तरोन्नतिका लागि जेठ ३० गतेसम्म दैनिक ६ घण्टा बन्द हुने

धादिङ,जेठ २५ । संघीय राजधानी काठमाण्डौँ भित्रने प्रमुख मार्ग त्रिभुवन राजपथको स्तरोन्नतिको काम यही जेठ २५ गतेसम्म भनिएकोमा जेठ ३० गतेसम्म पुर्याइएको छ । राजमार्ग स्तरोन्नतिको क्रममा पुनःपाँच दिन सवारी बन्द हुने भएको छ ।
गत शनिवार १० गतेदेखि १५ दिनको लागि दैनिक ६ घण्टा बन्द गरी निर्माणको काम गर्ने भनिएको भएपनि काम नसकिएपछि पुनः पाँच दिनको म्याद थप गरेको नागढुङ्गा मुग्लिन सडक आयोजना पूर्वी खण्डका प्रमुख केशव ओझाले जानकारी दिएका हुन् ।
स्तरउन्नतिसहित निर्माणधीन अवस्थामा रहेको सो सडक निर्माण सुधारका लागि गत १० गते शनिवारदेखि लागु हुने गरी २५ गते आइतवारसम्मका लागि दैनिक विहान १०ः३०देखि मध्यान्न ३ बजेसम्म बन्द गरी सडक निर्माणसहित सुधारको काम हुदै आएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौँमार्फत जिल्ला प्रशासन कार्यालय धादिङलाई समन्वय गर्दै नागढुङ्गा मुग्लिन सडक आयोजनले बन्दको सुचना जारी गरेको हो ।
राजमार्ग भएर संघीय राजधानी प्रवेशका लागि आउने र राजधानीबाट बाहिरिने सबै सवारी साधनहरुले आफ्नो लेन अनुसासनमा रही सवारी हाँक्न र ट्राफिक नियमको पालन गर्न सवारी चालकहरुलाई आग्रह समेत गरिएको छ ।
सो समयमा अत्यावश्यक सवारीका साधनहरु विरामी बोकेका एम्वुलेन्स, प्रहरीका सवारी र दमकल जस्ता सवारी साधनहरु भने चल्न पाउने छन् ।
सो राजमार्ग हुँदै दैनिक सत्र हजारको हाराहारीमा सवारीका साधनहरु गुड्ने गर्छन । बन्दको समयमा राजधानी प्रवेशका लागि आएका साना र हल्का तथा मझौला सवारी साधनहरुले धार्के- सितापाइला-सामाखुशी-टोखा छहरे- त्रिशुली- गल्छी सडक प्रयोग गर्न समेत आयोजनाले आग्रह गरेको छ ।