कोरोना परिक्षणका लागि एन्टिजेन किटको अभाव

बाँके,जेठ २६ । नेपालगन्जस्थित जमुनाहा नाकामा एन्टिजेन किटको अभावले कोरोना परीक्षण ठप्प भएको छ। दैनिक तीन÷चार हजार नेपालीहरू कामको सिलसिलामा भारत जान्छन् भने यति नै सङ्ख्यामा भारतबाट स्वदेश फर्कन्छन्।
इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार दैनिक ५–८ हजार नेपाली किनमेलका लागि भारततर्फको रुपईडिहा बजार जान्छन्। यस्तै, स्वास्थ्य उपचारको लागि भारत जानेको सङ्ख्या पनि उल्लेखनीय छ।
कोरोना महामारीको बेला स्थापना गरिएको हेल्थ डेस्कमा अहिले लुम्बिनी प्रदेश र नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्यकर्मी कार्यरत छन्। हाल औलो, क्षयरोग र एचआइभी परीक्षण भइरहे पनि कोरोना जाँचका लागि आवश्यक पर्ने एन्टिजेन किट नहुँदा परीक्षण हुन सकेको छैन।
हेल्थ डेस्क इन्चार्ज सुनिता मौर्याका अनुसार भारतका विभिन्न सहरमा कोरोना संक्रमण बढ्दो अवस्थामा छ तर नेपालगन्ज नाकामा परीक्षण ठप्प छ। “हामी जाँच गर्न आतुर छौँ तर किट नै छैन”, उनले भने, “यदि जाँच भएको भए संक्रमित भेटिने सम्भावना उच्च थियो।”
उनले प्रदेश र सङ्घीय सरकारसँग पटक–पटक एन्टिजेन किटको माग गरिसकेको बताए । “कोरोना परीक्षणको माध्यमबाट जोखिम न्यूनीकरण गर्न सकिन्थ्यो,” उनले थपे।
लुम्बिनी स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले पनि हाल निर्देशनालयसँग एन्टिजेन किट नरहेको पुष्टि गर्दै आपूर्ति महाशाखामा माग गर्ने तयारी भइरहेको जानकारी दिए “एक हप्ताभित्र आवश्यकताअनुसार जिल्ला–जिल्लामा किट पठाउने योजना छ,” उनले भने ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले भारतमा संक्रमण दर बढ्दै गएकाले अब नाकामा पनि परीक्षण आवश्यक भएको बताए । “हामीले माग गरिसकेका छौँ, किट आएपछि परीक्षण सुरु गर्छौं,” उनले स्पष्ट पारे।
स्वास्थ्य विज्ञहरूले सीमावर्ती नाकाहरूमा कोरोना परीक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्। एन्टिजेन किट अभावकै कारण सीमामा परीक्षण नहुनु संक्रमण फैलाउने ‘साइलेंट थ्रेट’ बन्न सक्ने चेतावनी दिन थालेका छन्।