भद्रुटारको बुढीसेरा–लाकुरीभञ्ज्याङ मोटरबाटोको स्तरोन्नति कार्य जारी, सडक पूर्णरूपमा बन्द

नुवाकोट,जेठ २६ — पञ्चकन्या गाउँपालिका वडा नं. ५ अन्तर्गत भद्रुटारको बुढीसेराबाट वडा कार्यालय हुँदै लाकुरीभञ्ज्याङ जोड्ने मोटरबाटोको निर्माण तथा स्तरोन्नतिको कार्य तीव्र गतिमा भइरहेको छ। निर्माण कार्यको सिलसिलामा हाल उक्त सडकखण्ड पूर्णरूपमा बन्द गरिएको छ।
वडा अध्यक्ष माधव प्रसाद सिटौलाका अनुसार बुढीसेरा हुँदै बच्छला माविबाट उकालो तथा वडा कार्यालयदेखि तल्लो खण्डहरूमा सडक सुधार कार्य भइरहेको छ। करिब आधा खण्डमा ग्राभेल छरिएको छ भने करिब २०० मिटर क्षेत्रमा ढलान निर्माणको कार्य पनि अगाडि बढाइएको छ। साथै, सडक छेउछाउमा नाली निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ।
पञ्चकन्या गाउँपालिका कार्यालयसंग जोड्ने छोटो यस सडक खण्ड सांसद विकास कोषबाट प्राप्त १ करोड रुपैयाँ बजेटमा उक्त सडक स्तरोन्नति कार्य भइरहेको हो। जेसीबीको प्रयोग गरी भित्तो काट्ने, ग्राभेल छर्ने र ढलान निर्माणजस्ता कामहरू भइरहेकोले हाल सवारी सञ्चालन असहज बनेको जनाइएको छ। टेन्डर प्रक्रियामा भएको ढिलाइका कारण केही समय लागे पनि हाल नियमितरूपमा कार्य जारी छ।
वडा कार्यालयद्वारा प्रकाशित सूचना अनुसार निर्माण र स्तरोन्नतिको कार्य पूर्ण रूपमा सम्पन्न नभएसम्म सडक बन्द रहनेछ। यात्रु तथा स्थानीयवासीहरूलाई वैकल्पिक रूपमा भट्टीको डिल हुँदै आवतजावत गर्न आग्रह गरिएको छ। उक्त मार्गमा सानो ढलान भए पनि सवारी सञ्चालनमा कुनै प्रतिबन्ध छैन।
स्थानीय तहले आवश्यक जानकारीका लागि सूचना सार्वजनिक गर्दै सम्बन्धित सरोकारवालाहरूलाई सहयोग र संयम अपनाउन अनुरोध गरेको छ।
