क्रिकेटमा रमाउँदै विदुर — मेयर कपको तयारी अन्तिम चरणमा

नुवाकोट,जेठ २७— नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारमा यही जेठ २९ गतेदेखि सुरु हुने प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको तयारी अहिले अन्तिम चरणमा पुगेको छ। विदुर नगरपालिकाको आयोजना र नुवाकोट क्रिकेट संघको सहकार्यमा प्रतियोगिता सञ्चालन गरिन लागिएको हो।
स्थानीय तहका युवाबीच खेलकुदप्रति जागरूकता बढाउने उद्देश्यले आयोजना गर्न लागिएको यस प्रतियोगितामा नगर क्षेत्रभित्रका सबै वडाहरूको सहभागिता रहने छ। प्रतियोगितामा उत्कृष्ट खेल कौशल प्रदर्शन गर्ने खेलाडीहरूको पहिचान गर्दै भविष्यमा राष्ट्रिय स्तरसम्मको प्रतिनिधित्वका लागि तयारी गर्ने अवसर पनि प्रदान गरिने आयोजक पक्षले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूको लागि हाल वडा स्तरमा नाम दर्ता तथा छनोट प्रक्रिया तीव्र रूपमा जारी रहेको छ। विदुर नगरपालिकाले सम्बन्धित वडा कार्यालयमार्फत निवेदन दिने प्रक्रियामा चाँडो सहभागी हुन सम्पूर्ण खेलप्रेमी युवाहरूलाई पुनः आग्रह गरेको छ।
प्रतियोगिता जेठ २९ गते एक विशेष उद्घाटन समारोहका साथ सुरु हुने र चरणबद्ध रूपमा सम्पन्न हुने कार्यक्रम तय गरिएको छ। खेल पिपलटार खेलमैदानमा सञ्चालन हुनेछ।
नगरप्रमुखसहित स्थानीय जनप्रतिनिधि, संघसंस्था तथा खेलप्रेमीहरूको उपस्थिति रहने अपेक्षा गरिएको उक्त प्रतियोगिता नगरस्तरमा नियमित खेल गतिविधिलाई संस्थागत बनाउने दिशातर्फको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।