दुप्चेश्वर महादेव मन्दिर परिसरमा १०८ धारा निर्माण सुरु, स्मृतिमा नाम राख्ने सुनौलो अवसर

नुवाकोट,जेठ २७ — नुवाकोट जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिर धाममा १०८ धारा (हिटी धारा) निर्माणको कार्य अगाडि बढाइएको छ। धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्व राख्ने यस धाममा थप आकर्षण थप्न दुप्चेश्वर क्षेत्र विकास कोषले उक्त निर्माणको योजना अघि सारेको हो।
पवित्र स्थलमा प्राकृतिक ढुङ्गाबाट कुदेर धारा बनाउने कार्य सुरु भइसकेको छ। हालै बसेको कोषको बैठकले धारा निर्माणका लागि इच्छुक व्यक्तिहरूलाई आफ्ना दिवंगत पितृको स्मृतिमा वा आफ्नै नाममा धारा राख्ने अवसर दिने निर्णय गरेको छ। सोही निर्णयका आधारमा कोषले एक सूचना जारी गर्दै यही जेठ महिना भित्र नाम दर्ता गर्न आह्वान गरेको छ।
सूचनामा उल्लेख गरिएको अनुसार, एक धाराको लागि रु १५,००० (पन्ध्र हजार) सहयोगस्वरूप बुझाउनु पर्नेछ। उक्त रकम बुझाउने व्यक्तिको नाम क्रमअनुसार स्मारक शिलालेखमा उल्लेख गरिने कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । इच्छुक व्यक्तिहरूलाई समयमै सम्पर्क गर्न आग्रह गर्दै कोषको कार्यालयमा प्रत्यक्ष उपस्थित हुन वा सम्पर्क व्यक्तिसँग समन्वय गर्न भनिएको छ।
यस योजनाअन्तर्गत दुप्चेश्वर मन्दिरभन्दा झन्डै १५०० मिटर माथिबाट बहने सूर्यमती नदीको पानी इन्टेक प्रणालीमार्फत संकलन गरी रिजर्भ ट्याङ्की हुँदै सबै धारामा प्रवाह गरिने व्यवस्था मिलाइनेछ। यो सम्पूर्ण संरचना प्राकृतिक सौन्दर्यमा मेल खाने गरी निर्माण गरिने जानकारी कोषले दिएको छ।
यसअघि मन्दिर क्षेत्रको करिब १५० रोपनी जग्गा अतिक्रमणमा परेको अवस्थामा, दुप्चेश्वर गाउँपालिकाले गठन गरेको खोज समितिको प्रतिवेदनका आधारमा सो क्षेत्र फिर्ता गराइएको थियो। सोही जग्गामा विभिन्न संरचनाहरूको योजनासहित संरक्षण र प्रवर्द्धन कार्य अघि बढाइएको हो।
धार्मिक क्षेत्रको दीर्घकालीन संरक्षण र व्यवस्थित विकासका लागि गुरुयोजना (मास्टर प्लान) वा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आवश्यक भए पनि कोषले अहिलेसम्म सो प्रक्रिया अघि नबढाएको चिन्ता स्थानियवासी तथा सम्पदाप्रेमीहरूले व्यक्त गरेका छन्। महादेवको शिलामुनि तथा खोलाको क्षेत्र जथाभावी उत्खनन वा निर्माणले धार्मिक धामको मौलिक सौन्दर्यमा क्षति पुग्न सक्ने खतरा पनि देखिएको छ।
यतिबेला टोखा–छहरे मार्ग हुँदै कविलास–खरानीटार–रामती–दुप्चेश्वर सडक स्तरोन्नत भएपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ। ती पर्यटकहरूले दुप्चेश्वरसँगै नुवाकोट दरबार क्षेत्र र देवीघाटस्थित जालपामाई मन्दिरसमेत भ्रमण गर्ने गरेका छन्, जसले स्थानीय व्यवसाय र पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याइरहेको छ।
धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको संगमस्थल दुप्चेश्वर क्षेत्रलाई व्यवस्थित रूपमा विकसित गर्न स्थानिय सरकार, विकास कोष र जनसहभागिताको सामूहिक प्रयास अपरिहार्य देखिन्छ।