अमेरिकाको लस एन्जलसमा आप्रवासीमाथि गरिएको छापाको विरोधमा प्रदर्शन उग्र



लस एन्जलस,जेठ २७ — अमेरिकाको लस एन्जलसमा आप्रवासीमाथि गरिएको छापाको विरोधमा सुरु भएको प्रदर्शन क्रमशः उग्र बन्दै गएको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच विभिन्न स्थानमा झडप भएको छ।

झडपका क्रममा आगजनी र तोडफोडका घटनाहरू पनि भएका छन्। स्थिति नियन्त्रणमा लिन अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ७ सय जल सैनिक (मारिन्स) परिचालन गरेको पुष्टि गरेको छ।

अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूको खोजी तथा जबर्जस्ती निष्कासन (डिपोर्टेशन) प्रक्रिया तीव्र बनाइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लस एन्जलसमा मात्रै झन्डै २ हजार संख्यामा राष्ट्रिय सुरक्षा गार्ड (नेशनल गार्ड) परिचालन गरेको जनाइएको छ। राष्ट्रपति ट्रम्पले सुरक्षा गार्ड परिचालन गर्ने निर्णयको बचाउ समेत गरेका छन् ।

यसैबीच, क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले संघीय सरकारको उक्त कदमविरुद्ध मुद्दा दायर गर्नुभएको छ। सेना परिचालनको विषयमा डेमोक्र्याट पार्टीका गभर्नरहरू एकमत भई विरोधमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्