खानेपानीमा भेटियो हानिकारक जीवाणु कोलिफर्म

धादिङ,जेठ २७ । नीलकण्ठ नगरपालिका स्थित सदरमुकाम क्षेत्रमा वितरण गर्दै आएको खाने पानी हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय धादिङबाट सङ्कलित पानीको नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशालामा लगी परिक्षीण गर्दा दिशामा पाइने कोलिफर्म नामक हानिकारक जीवाणु फेला पारेको पुष्टि भएको हो ।
नगरपालिका क्षेत्रमा वितरण गर्दे आएको पिउने पानीको तिन ओटा मुहानबाट सङ्कलित नमुना परीक्षण गर्दा तिनै वटा मध्य दुई ओटा मूलको पानी पिउन योग्य नै नभएको बताइएको छ ।
ती मध्ये सातमुले मुहानको पानीमा कोलिफर्म भेटिएको हो । सबै मुहान एउटै स्थानमा जम्मा गरी पानी वितरण गर्ने हुनाले पानी पानी उमालेर खान अनुरोध नीलकण्ठ नगरपालिका वडा नम्बर ३का अध्यक्ष राजकुमार श्रेष्ठले आग्रह गरेका छन् ।
कोलिफर्म मिसिएको पानी पिउँदा झाडा पखाला ज्वरो आउँ टाइँफाइँड जस्ता रोगको सङ्क्रमण हुने भएकोले नगरवासीलाई पानी निर्मलीकरण गरे पछि मात्रै पिउन अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।