पञ्चकन्यामा विकास योजनाहरूको स्थलगत अनुगमन सम्पन्न

नुवाकोट,जेठ २७ । पञ्चकन्या गाउँपालिकामा चालु आर्थिक वर्षमा उपभोक्ता समिति तथा ठेक्का प्रक्रियामार्फत सञ्चालनमा रहेका विभिन्न विकास आयोजनाहरूको स्थलगत अनुगमन तथा निरीक्षण कार्य मंगलबार सम्पन्न भएको छ। अनुगमन कार्यको नेतृत्व गाउँपालिकाका उपाध्यक्ष तथा योजना/कार्यक्रम अनुगमन समितिका संयोजक विमला के.सी.ले गरेकी थिइन ।
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष माधव प्रसाद सिटौला, वडा समितिका सदस्यहरू, पूर्वाधार विकास तथा वातावरण शाखाका प्राविधिक कर्मचारीहरू, योजना तथा अनुगमन शाखाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, निर्माण कम्पनीका प्रतिनिधिहरू तथा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
अनुगमन टोलीले पञ्चकन्या गाउँपालिकाका विभिन्न वडामा निर्माणाधीन रहेका भवन, मन्दिर स्तरोन्नति कार्य, सडक सुधार तथा अन्य पूर्वाधारसम्बन्धी आयोजनाहरूको अवलोकन गरेको थियो। निरीक्षणका क्रममा निर्माणको गुणस्तर, कार्यान्वयनको पारदर्शिता, निर्धारित समयसीमामा काम सम्पन्न हुने अवस्था र आयोजनाको समग्र प्रगतिको मूल्याङ्कन गरिएको थियो।
स्थलगत निरीक्षणपछि योजनाहरूको कार्यान्वयन सन्तोषजनक रहेको पाइए पनि अझ बढी प्रभावकारी कार्यसम्पादनका लागि आवश्यक सुझाव र निर्देशन समेत सम्बन्धित पक्षहरूलाई प्रदान गरिएको छ। सहभागी सरोकारवालाहरूले यस्तो अनुगमनले कामको प्रभावकारिता बढाउने विश्वास व्यक्त गरेका छन्।