एसियन कप छनोट : नेपाल लाओससँग पराजित



काठमाडौं,जेठ २८ । एएफसी एसियन कप छनोट खेलमा नेपाल लाओससँग २–१ गोलले पराजित भएको छ । न्यु लाओस स्टेडियममा मङ्गलबार भएको खेलमा घरेलु टोली लाओसलाई जिताउन डामोथ थोङखामसााथले १३औँ र पिटर फान्थाभोन्गले ४९औँ मिनेटमा गोल गरे ।

नेपालका लागि मनिष डाँगीले ७३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । त्यसपछि थप गोल गर्न नसक्दा नेपाल हार खेप्न बाध्य बन्यो । 

नेपालले लाओससँग पहिलो पटक हार खेपेको हो । नेपालले यसअघि लाओसँग खेलेको ६ खेलमा चार जित निकालेको थियो भने दुई खेल बराबरीमा सकिएको थियो । तर सातौँ खेलमा आएर नेपाल पराजित भयो । छनोटको समूह ‘एफ’ मा रहेको नेपालले उसैको मैदानमा छनोट खेल खेलेको हो । 

यस खेलबाट कृतिशरत्न छुन्जुले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका छन् । उनी मनिष डाँगीको स्थानमा मैदान प्रवेश गरेका थिए  । नेपालले लाओस जानु्अघि हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपालले हङकङलाई गोलरहित बराबरीमा रोकेको थियो । समूहको छनोट खेलमा भियतनाम, मलेसिया र लाओससँग प्रतिस्पर्धा गरिरहेको छ । नेपाल आफ्नो पहिलो खेलमा मलेसियासँग २–० गोलले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्