त्रिवि अध्यागमन हुँदै ७५ हजारभन्दा बढी भारतीय तेस्रो मुलुक



काठमाडौँ,जेठ २८ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन हुँदै भिजिट भिसाको आवरणमा व्यापक मानव तस्करी भएको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा छानबिन गरिरहेको छ।

छानबिनका क्रममा पछिल्लो आठ वर्षमा ७५ हजार ८६४ जना भारतीय नागरिक त्रिवि अध्यागमन प्रयोग गरी तेस्रो मुलुक पुगेको तथ्य फेला परेको छ। उनीहरू कतार, कुवेत, युएई, हङकङ, मलेसिया, चीन, थाइल्यान्ड र श्रीलङ्का लगायतका देश गएका हुन्।

२०७४ फागुनदेखि हालसम्मको तथ्याङ्क अनुसार, रवि लामिछानेको दुई कार्यकालमा ८,२७९ जना भारतीयलाई बाहिर जान अनुमति दिइएको थियो, जुन दैनिक औसत ५८ जना पर्छ। यस्तै, नारायणकाजी श्रेष्ठको कार्यकालमा १४,००७ जना (दैनिक ३८), बालकृष्ण खाणको कार्यकालमा २४,६२१ जना (दैनिक ४७) र रामबहादुर थापा ‘बादल’को कार्यकालमा १५,०३२ जना (दैनिक १२) भारतीय तेस्रो मुलुक पुगेका छन्।

केही यात्रुहरू सम्बन्धित मुलुकको ‘नो अब्जेक्सन लेटर’ (एनओसी) बिना नै गएका थिए। प्रतिनिधि सभामा भिजिट भिसा प्रकरणमा बहस चर्किदै गए पनि अनुसन्धानको पक्ष ओझेलमा परेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्