प्रतिनिधि सभाको बैठक बिहीबार तीन बजे सम्मका लागि स्थगित 



काठमाडौं,जेठ २८ । प्रतिनिधि सभाको आजको बैठक पनि प्रतिपक्षी दलहरूले अवरुद्ध गरेपछि भोली दिउसो ३ बजेसम्मका लागि स्थगित भएको छ । 

सभाको बैठक शुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदहरुले उठेर गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै नाराबाजी र अवरोध गरेका थिए। 

प्रतिपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सदन दुई हप्तादेखी अवरुद्ध भइरहँदा छलफल र सभा सञ्चालन गर्न कठिन भइरहेको भन्दै सभा सञ्चालनका लागि वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गरे ।

पटक–पटक आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरुले अवरोध जारी राखेपछि सभामुख घिमिरेले आजको कार्यसूचीबाट सम्पूर्ण कार्यक्रम हटाइएको र बैठक भोली दिउसो ३ः०० बजेसम्मका लागि स्थगित गरिएको बताए ।

यसअघि आज दिउसो १ बजेका लागि बोलाइएको बैठक दलहरुबीच सहमति हुन नसकेपछि सवा तीन बजेका लागि सारिएको थियो ।संसद्को अवरोध खुलाउने विषयमा आज सभामुख देवराज घिमिरेसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको बैठक बसेपनि सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नो अडानमा कायम रहेपछि बैठक निष्कर्षविहीन भएको छ ।

यसअघि प्रतिपक्षी दलहरूको अलग्गै बैठक बसेर भिजिट भिसा प्रकरणका विषयमा रास्वपाले राखेको पाँच बुँदे प्रस्तावका विषयमा छलफल गरेका थिए । 

यसैबीच, सभामुखसहितको छलफल पछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुबीच छलफल भएपनि सहमति भने हुन सकेन ।   

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विषयलाई प्रमुखताका साथ उठाइरहेका छन् ।

सत्तारूढ दलहरू भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको विषयमा गृहमन्त्री लेखकको राजीनामा दिन नपर्ने र छानबिन समिति पनि गठन नहुने अडान राख्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्