नुवाकोट बेलकोटगढी नगरपालिकामा गृहिणी महिलालाई अचार बनाउने तालिम सम्पन्न

नुवाकोट,जेठ २८ — जिल्लाको बेलकोटगढी नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले सञ्चालन गरेको गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत अचार बनाउने तालिमको समापन भएको छ।
नगरपालिकाको वडा नम्बर ५ स्थित डवलीमा आयोजना गरिएको समापन कार्यक्रममा वडा नम्बर ५ र ६ का सहभागी गृहिणी महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तालिममा महिलाहरूलाई विभिन्न प्रकारका परिकारहरूमा प्रयोग हुने अचार बनाउने तरिका, पोषण तथा व्यवसायिक सम्भावनाका बारेमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
कार्यक्रमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउने, घरेलु स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्थानीय स्तरमा साना उद्योगको सम्भावना बढाउने रहेको शाखाले जनाएको छ।
समापन कार्यक्रममा सहभागी महिलाहरूले प्राप्त सीपलाई व्यवसायिक रूपमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक पक्षले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेको थियो।