गर्मीका कारण नुवाकोटको जनजीवन प्रभावित, केही विद्यालय बन्द



नुवाकोट, जेष्ठ २८ – केही दिनदेखि बढ्दो गर्मीका कारण नुवाकोट जिल्लाको जनजीवन प्रभावित भएको छ। असह्य गर्मीका कारण विशेषगरी दैनिक ज्यालादारीमा कार्यरत मजदुर, बालबालिका तथा ज्येष्ठ नागरिक बढी मारमा परेका छन्।

स्थानीयवासीका अनुसार बिहान र बेलुकाबाहेकको समयमा अत्यधिक गर्मी हुने भएकाले सर्वसाधारण घरभित्रै सीमित हुन थालेका छन्। अत्यधिक तापक्रमका कारण घरबाहिर निस्किन समेत कठिन भएको जनगुनासो छ।

लगातार वर्षा नहुँदा र तापक्रम झनै बढ्दै जाँदा कृषकहरू समेत चिन्तित देखिएका छन्। खेतबारीमा लगाइएको मकै बोट सुक्न थालेपछि कृषिमा असर पर्न थालेको छ। पानीको अभाव र तातो हावाले बाली सुक्दै गएको किसानहरूको भनाइ छ।

यसैबीच, गर्मीका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेको छ। केही विद्यालयले त अत्यधिक गर्मीको प्रभावलाई ध्यानमा राख्दै अस्थायी रूपमा पठनपाठन नै बन्द गरेका छन्। अत्यधिक गर्मीका कारण जिल्लाको लिखु गाउँपालिका ६ थान्सिङमा रहेको बच्छला माध्यमिक विद्यालय दुई दिनका लागि बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष अधिकारीले बताए ।

“मध्याह्न समयमा ३८ डिग्रीसम्म तापक्रम मापन गरियो, बालबालिकामा बान्ता हुने र बिरामी हुने संख्या बढेपछि पछि व्यवस्थापन गर्नेगरी बन्द गरिएको हो।” अध्यक्ष अधिकारीले बताए । यता क्षेत्रपाल माध्यमिक विद्यालयले कक्षा १ – ३ बालबालिकालाई केहि दिनलाई बिदा दिइएको विद्यालयका प्रधानाध्यापक हरि सुवेदीले बताए ।

स्थानीय स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीमा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन र शरीरलाई चिसो राख्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्