स्याङ्जाको जिमुवामा लटरम्मै फल्यो खजुर, व्यवसायिक खेतीको तयारी



स्याङ्जा,जेठ २९ — जनमानसमा खजुर भन्नासाथ साउदी अरब, कतारजस्ता मरुभूमि देशहरू सम्झने गरिन्छ । तर अब खजुर स्याङ्जा जिल्लामा पनि फल्न थालेको छ । जिल्लाको गल्याङ नगरपालिका–११, जिमुवामा यस वर्ष खजुर लटरम्मै फलेको छ ।

करिब ६० वर्षीय बाबुराम ढकाल खाडी मुलुक साउदी अरबमा रोजगारका लागि गएका थिए । उनी छुट्टीमा घर फर्किँदा केही खजुरका बीउ ल्याएका थिए । ढकालले बालुवा र मलमाटो मिसाएर बीउ रोपेपछि दुई वटा बीउ अंकुरिए । निरन्तर स्याहारसुसार गर्दै जाँदा बिरुवा बढ्दै गयो र गत वर्ष थोरै फल दिएको खजुर यसपालि लटरम्मै फलेको स्थानीयले बताएका छन् ।

“मरुभूमिभन्दा अलिक बाहिर पनि खजुर फल्न सक्ने देखेपछि आफ्नो जन्मभूमिमा पनि सफल हुन्छ भन्ने लागेर केही बीउ ल्याएको हुँ,” ढकालले बताए । खजुरका लागि अत्यधिक घाम चाहिने र ४०–४५ डिग्री तापक्रम सहन सक्ने क्षमताका कारण जिमुवाको गर्मी मौसम अनुकूल हुने उनले बताए ।

बिउ रोपेको ७ वर्षपछि यसपालि खजुर राम्रोसँग फलेको छ । गाउँमै खजुर फल्न थालेपछि अब व्यावसायिक खेती विस्तार गर्ने योजनामा रहेको ढकालको भनाइ छ ।

जिमुवामा खजुर फलेको खबर फैलिँदै गएपछि दैनिकजसो खजुर हेर्न स्थानीयको भीड लाग्ने गरेको कृषि बीउ उत्पादन फर्मका सञ्चालक रुमलाल कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्