माडीको ‘धनलक्ष्मी झरना’ : ओझेलमा परेको अनुपम सम्पदा

चितवन,जेठ २९ —दक्षिण चितवनको माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ। सामेश्वर मन्दिर, गोद्धक, वैकुण्ठ ताल, राम मन्दिरजस्ता धार्मिकस्थलले माडीलाई पर्यटकीय मानचित्रमा चिनाउन थालेका छन्। तर, यिनै मध्येको एक — करिब ६० मिटर उचाइबाट झर्ने सुन्दर ‘धनलक्ष्मी झरना’ अझै पनि धेरैको दृष्टिबाट ओझेलमा छ।
स्थानीयस्तरमै नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको यो झरना वैकुण्ठ तालभन्दा माथि अवस्थित छ। वैकुण्ठधाम पूजा तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष राजकुमार परियारका अनुसार झरनासम्म पुग्न करिब डेढ घण्टाको पैदल यात्रा गर्नुपर्छ। उनले हाल तालदेखि झरनासम्मको आधा दूरीसम्म सिँढी निर्माण भइसकेको र बाँकी भाग आगामी वर्ष सम्पन्न गर्ने योजना रहेको जानकारी दिए।
“बजेटको अभावले काममा ढिलाइ भएको हो,” अध्यक्ष परियार भन्छन्, “तर झरनासम्मको बाटो निर्माण मात्र गर्न सकियो भने पनि ठूलो संख्यामा पर्यटक यहाँ ल्याउन सकिन्छ।”
किंवदन्ती र सांस्कृतिक महत्व
माडी नगरपालिका–८ का पूर्ववडाध्यक्ष कृष्ण अधिकारीका अनुसार माडी क्षेत्रको बसोबास सुरु भएको करिब वि.सं. २०२० को दशकदेखि नै वैकुण्ठ ताल वरपर मेला लाग्ने, बाल चतुर्दशीमा शत् बीउ छर्ने परम्परा चलिआएको हो। “यहाँ धन प्राप्तिको चाहना पूरा हुने विश्वास रहेकोले झरनालाई ‘धनलक्ष्मी झरना’ नाम दिइएको हो,” अधिकारी बताउँछन्।
झरना पुग्ने बाटो भरतपुर–माडी–ठोरी हुलाकी सडकको खरकट्टा नामक स्थानबाट दक्षिणतर्फ पर्छ। खरकट्टाबाट झरनाको आधार क्षेत्रमा पर्ने वैकुण्ठ तालसम्म तीन किलोमिटर पक्की सडक पुगेको छ। त्यहाँबाट करिब २० मिनेट उकालो हिँडेपछि ताल पुगिन्छ, र थप डेढ घण्टा पैदल यात्रा गरेपछि झरनासम्म पुग्न सकिन्छ।
सम्भावनाहरू र चुनौतीहरू
“धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यको कारण अहिले मानिसहरू झरनातिर आकर्षित हुन थालेका छन्,” वडाध्यक्ष अधिकारी बताउँछन्, “तर पूर्वाधार निर्माण गर्न सके अझै ठूलो संख्यामा पर्यटक यहाँ ल्याउन सकिन्छ।”
वैकुण्ठधाम क्षेत्रभित्र वैकुण्ठ ताल, धनलक्ष्मी झरना, वैकुण्ठेश्वर शिवालय मन्दिर, कैलाश पर्वत, प्रेम दह, मनमोह भिर, दुई खोला दोभान, चमेरे गुफा र आरण्य बौद्ध विहारजस्ता स्थलहरू रहेका छन्। यी स्थलहरू प्राकृतिक र धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छन्।
अधिकारीका अनुसार हाल वैकुण्ठ क्षेत्रभित्र ‘कान्तिपुर सामूहिक खेती’, ‘फार्म स्टे’ र ‘अयोध्या मार्ग’ जस्ता योजनाहरू सञ्चालनमा छन्, जसले पर्यटनलाई समुदायसँग जोड्न थालेका छन्।
नगर उपप्रमुख खेमप्रसाद महतोका अनुसार वैकुण्ठ क्षेत्रलाई एकीकृत रूपमा विकास गर्ने योजना बनाइएको छ। “धनलक्ष्मी झरना जङ्गलभित्र पर्ने भएकाले धेरैले थाहा पाएका छैनन्,” उनले भने, “तर यसको प्रचारप्रसार र पूर्वाधार निर्माण गरी महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ।”
माडी भौगोलिक दृष्टिले अति आकर्षक भए पनि जङ्गली जनावरको जोखिम यहाँको स्थायी चुनौती हो। तीनतर्फबाट चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको माडी क्षेत्र दर्जनौँ खहरे खोलासहितका संरचनाले भरिएको छ। “बाघ, गैँडा देखाएर अन्यत्र पर्यटन फस्टाए पनि माडीमा अझैपनि जङ्गली जनावरका कारण नोक्सानी हुने गरेको छ,” उपप्रमुख महतोले बताए।
तर, झरना, ताल र धार्मिक स्थलहरूको समुचित संरक्षण र पूर्वाधार निर्माणमार्फत माडी क्षेत्रको पर्यटनलाई दीर्घकालीन रूपमा समृद्ध बनाउन सकिने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।