“क्रिकेटमा उत्साहको चौका! विदुर मेयर कपका खेलाडीलाई खेल सामग्री वितरण”

नुवाकोट,जेठ २९ —प्रथम विदुर मेयर कप अन्तरवडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीहरूलाई उत्साहित बनाउन विदुर नगरपालिका–४ र ७ ले विभिन्न खेल सामग्री वितरण गरेका छन्। आजदेखि सुरु भएको प्रतियोगितामा सहभागी आफ्ना वडाका खेलाडीहरूलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।
खेलाडीहरूलाई प्रदान गरिएका सामग्रीमा जर्सी, ट्रयाकसुट, बल, ब्याट, प्याड र क्याप समावेश छन्। विदुर–४ वट्टार संगमचोकमा आयोजित कार्यक्रममा वडाध्यक्ष नीलमबाबु ढुंगेल र वडा सचिव दीपक मुडवरीले सामग्री वितरण गर्दै आफ्नो टिमबाट उत्कृष्ट प्रदर्शन हुने विश्वास व्यक्त गरे। सचिव मुडवरीले क्याप पनि वितरण गरे।
त्यसैगरी, विदुर–७ का वडाध्यक्ष रविन्द्र नेपालले पनि आफ्नो वडाका खेलाडीहरूलाई अभ्यास र प्रतिस्पर्धाका लागि आवश्यक सामग्री प्रदान गरिएको जानकारी दिए।
उद्घाटन खेल : विदुर–६ र विदुर–१० भिड्दै
प्रतियोगिताको उद्घाटन खेल पिपलटार लामिबगैंचास्थित मैदानमा विदुर–६ र विदुर–१० बीच हुनेछ। विदुर–४ को पहिलो प्रतिस्पर्धा वडा नं. ५ सँग हुने तालिका छ।
विदुर नगरपालिकाको आयोजनामा तथा नुवाकोट जिल्ला क्रिकेट संघको सहकार्यमा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल असार ७ गते हुने तय गरिएको छ। सहभागी टिमहरूलाई चार समूहमा विभाजन गरिएको छ:
समूह ‘ए’: विदुर–६, १०, १२
समूह ‘बी’: विदुर–१, ७, ८
समूह ‘सी’: विदुर–४, ५, ९
समूह ‘डी’: विदुर–२, ३
५० हजारको उपाधि पुरस्कार, म्यान अफ द म्याचलाई नगद ५ सय
प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको म्यान अफ द म्याच लाई ५ सय रुपैयाँ प्रदान गरिनेछ। आयोजकका अनुसार उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कार पनि प्रदान गरिनेछ।