नुवाकोट दुप्चेश्वरको नाटाङ भञ्ज्याङमा ३४ फिट अग्लो बुद्धको मूर्ति प्रतिस्थापन

नुवाको,जेठ २९ — दुप्चेश्वर गाउँपालिका–३ र ४ को संगमस्थल नाटाङ भञ्ज्याङमा ३४ फिट अग्लो बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ। बुधबार एक विशेष समारोहका बीच गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले उक्त मूर्तिको प्रतिस्थापनसहित उद्घाटन गरेका हुन्।
काठमाडौं–गुर्जे–खोलेगाउँ, मानेभञ्ज्याङ–गोल्फुभञ्ज्याङ र समुन्द्रटार–झगडे–पेमासु हुँदै नाटाङ भञ्ज्याङ् पुग्न सकिन्छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई थप प्रबर्द्धन गर्ने उद्देश्यसहित उक्त मूर्तिको स्थापना गरिएको हो।
कुल ६८ लाख रुपैयाँको लागतमा मूर्तिसँगै वाल, दुबो र झण्डा पार्क समेत निर्माण गरिएको छ। यस परियोजनाबाट स्थानीय पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको जानकारी गाउँपालिकाका सूचना अधिकारी निरज खतिवडाले दिए।
समारोहमा गुम्बा संरक्षण समितिका अध्यक्ष तिर्थ तामाङले अध्यक्षता गरेका थिए। कार्यक्रममा स्थानीयबासी, धार्मिक अगुवा र जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।