विदुरमा प्रथम मेयर अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु

नुवाकोट,जेठ २९ — विदुर नगरपालिकाको आयोजनामा तथा नुवाकोट क्रिकेट संघको प्राविधिक सहयोगमा ‘प्रथम विदुर मेयर अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’ सुरु भएको छ। प्रतियोगिताको उद्घाटन समारोह बिहीबार, विदुर–५ स्थित तल्लो पिपलटार खेल मैदानमा सम्पन्न भयो।
उद्घाटन समारोहमा विदुर नगरपालिकाको सामाजिक विकास समितिका संयोजक लेनिन रञ्जितको सभाध्यक्षता रहेको थियो भने नगरप्रमुख राजन श्रेष्ठ प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा नगर उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, ६ नं. बाहिनीपति सहायकरथी सुवासजंग थापा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न वडाका अध्यक्षहरु, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिताका सम्पूर्ण खेलहरू विदुर–५ स्थित तल्लो पिपलटार खेल मैदानमा सञ्चालन हुने आयोजक पक्षले जनाएको छ।प्रतियोगितामार्फत युवाहरूमाझ खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै आपसी सद्भाव र सहकार्यलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।