अहमदाबाद विमान दुर्घटनाप्रति राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतासहितको शोक



नयाँदिल्ली,जेठ ३० । भारतको गुजरात राज्यस्थित अहमदाबाद शहरमा बिहीबार भएको विमान दुर्घटनाप्रति राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी नेतासहित विभिन्न व्यक्तित्वहरूले गहिरो शोक व्यक्त गरेका छन्।

लण्डनका लागि उडेको भारतीय यात्रुवाहक विमान एक आवासीय क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृत्यु भएको विश्वास गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

राष्ट्रपति द्रौपदी मुर्मूले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई “हृदयविदारक विपत्ति” भनेका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् , “अहमदाबादमा भएको विमान दुर्घटनाको खबरले म निकै दुःखी छु। यो हृदयविदारक विपत्ति हो। पीडितप्रति समवेदना प्रकट गर्दै राष्ट्र पीडित परिवारजनसँग उभिन्छ।”

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना “स्तब्ध तुल्याउने” र “शब्दमा व्यक्त गर्न नसकिने” भएको बताउँदै पीडितप्रति समवेदना प्रकट गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत लेखेका छन् , “म प्रभावितहरूलाई सघाउन लागिपरेका मन्त्री तथा अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छु।”

कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धीले यात्रु तथा चालक दलका सदस्यप्रति समवेदना प्रकट गर्दै घटनालाई “अत्यन्तै हृदयविदारक” बताएका छन् । लोकसभा प्रतिपक्षी नेता राहुल गान्धीले दुर्घटनाप्रति शोक व्यक्त गर्दै कांग्रेस कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा सहयोग गर्न आग्रह गरेका छन् ।

अन्य विभिन्न दलका नेता, कलाकार तथा उद्योगी–व्यवसायीहरूले पनि सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै राहत तथा उद्दारमा कुनै कमी नराख्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्