आलमलाई सफाई दिने न्यायाधीशमाथि कालोमोसो प्रहार गर्ने ३ जना पक्राउ



वीरगन्ज,जेठ ३० । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीशद्वय डा. खुसीराम थारु र अर्जुन महर्जनमाथि बिहीबार अपराह्न अदालतमै कालोमोसो प्रहार गरिएको छ । 

इँटाभट्टा काण्डका मुख्य आरोपी एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिएको फैसलाको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का कार्यकर्ताले न्यायाधीश थारु र महर्जन माथि कालोमोसो प्रहार गरेको थिए । 

अदालतको इजलास चलिरहेका बेला अचानक इजलासभित्रै प्रवेश गरेका कार्यकर्ताले कालोमोसो प्रहार गरेपछि अदालत परिसरमा आतङ्क मच्चिएको थियो । घटनापछि सुरक्षाकर्मीले तुरुन्त इजलास क्षेत्र नियन्त्रणमा लिएको थियो । 

कालोमोसो प्रहार गर्नेहरूमा नेकपा बहुमतका प्युठानका केन्द्रीय सदस्य किशोर कुँवर (अविनाश), सर्लाहीका पदम बहादुर मगर, र सिरहाका गर्भु महतो रहेको प्रहरीले जनाएको छ । समूहको नेतृत्व धर्मेन्द्र बास्तोलाले गरेका थिए ।

पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले न्यायाधीशद्वय थारु र महर्जन नियमित पेशी सञ्चालन गरिरहेको बेला इजलास नम्बर २ मा कालोमोसो प्रहार गरिएको र प्रारम्भिक अनुसन्धानबाट घटना योजनाबद्ध रहेको पुष्टि भएको बताए । 

घटनापछि कालोमोसो प्रहार गर्ने तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिनुको साथै अदालत परिसरको सुरक्षा व्यवस्थामा कडाइ बनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्