अमेरिकाद्वारा चार देशका पाँच लाख नागरिकलाई तत्काल देश छाड्न आदेश

काठमाडौं,जेठ ३० । विपद्, युद्ध लगायत विशेष मानवीय कारणले अमेरिकामा अस्थायी रुपमा बसोबासको अनुमति दिएका हजारौं आप्रवासीलाई तत्काल देश छोड्न निर्देशन दिइएको छ ।
अमेरिकी गृह सुरक्षा विभाग जारी गरेको विज्ञप्तिमा क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट आएका ती नागरिकहरुलाई तत्काल अमेरिका छोड्न इमेल मार्फत् जानकारी गराइएको उल्लेख गरिएको छ ।
अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनले जारी गरेका आदेशहरू अन्तर्गत् ती चार देशका पाँच लाखभन्दा बढी नागरिकलाई दुई वर्षसम्म अमेरिका बस्न अनुमति दिइएको थियो ।
मानवतामा आधारित अस्थायी बसोबास अनुमतिका रुपमा चिनिने यस कार्यक्रमलाई बाइडेन प्रशासनले ती देशहरूमा रहेको संकटजन्य अवस्थालाई ध्यानमा राखी विस्तार गरेको थियो ।
तर अब डोनाल्ड ट्रम्प प्रशासनको कठोर आप्रवासन नीतिसँग मेल खाने नयाँ निर्देशन लागू गर्न लागिएको छ । जसले कानुनी चुनौतीहरूको सामना गर्न सक्ने विश्लेषण गरिएको छ ।