मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु,१ गम्भीर घाइते



वीरगन्ज,जेठ ३० । वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ ड्राइपोर्ट सडक खण्डस्थित सिताराम चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

ड्राइपोर्ट सडक खण्डमा भुस लोड गरी बिग्रेर रोकिएको एच आर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकमा पछाडिबाट आएको बागमती प्रदेश ०३ ००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा सो दुर्घटना भएको हो । मोटरसाइकल सिर्सियाबाट ड्राइपोर्टतर्फ जाँदै गरेको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ झलमैया निवासी राम शरण यादवका छोरा २३ वर्षीय रामाकान्त यादव र सोही ठाउँका बस्ने सुसराम यादवका छोरा २३ वर्षीय विजय यादव  रहेका छन् । उनीहरूको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले  जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा सोही ठाउँ निवासी मनिका राउत अहिरका छोरा २२ वर्षीय विजय कुमार यादव रहेका छन् । उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्