जुत्ता–चप्पल बनाउने सिपमा आत्मनिर्भरता: बेलकोटगढीमा महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण

• भरतसन्तोषी लामा
नुवाकोट,जेठ ३०। प्रदेश सरकार र बेलकोटगढी नगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत स्थानीय गृहिणी महिलाहरूलाई लक्षित गर्दै जुत्ता–चप्पल सिलाउने तथा बनाउने तालिम सञ्चालनमा ल्याइएको छ।
वडा नम्बर ३ र ४ का महिला दिदीबहिनीहरूलाई समेट्दै चालु वर्षमा २७ जनाले सहभागीता जनाएका छन् । तालिम वडा नम्बर ४ स्थित सामुदायिक भवनमा सो तालिम भैरहेको छ। गतवर्ष सोही कार्यक्रममा २५ महिलाले आधारभूत तालिम लिएका थिए भने यसपटक उनीहरूलाई लक्षित गर्दै एडभान्स तालिम प्रदान गरिएको हो ।
उक्त तालिमको प्रभाव यति छिटो देखिन थालिएको छ कि प्रशिक्षित महिलाहरूले तयार पारेका जुत्ता–चप्पलहरू सस्तो, भरपर्दो र आकर्षक भएकाले स्थानीय बजारमै राम्रो माग सिर्जना गर्न सफल भएका छन्। नगर क्षेत्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि समेत सुलभ मूल्यमा उपलब्ध गराउने रणनीति प्रभावकारी बन्न पुगेको छ।
वडा नम्बर ३ की अध्यक्ष कौशिला पुडासैनी भन्छिन्,
“सिपमूलक तालिमपछि महिलाहरूको आम्दानीमा वृद्धि भएको छ। दैनिक घरायसी खर्च व्यवस्थापनमा सहयोग पुगेको छ। महिलाहरू आत्मनिर्भर बन्दै गएका छन्, जुन सशक्त समाज निर्माणको लागि अत्यन्त जरुरी छ।”
बेलकोटगढी नगरपालिकाले महिलालाई दोहोऱ्याएर एउटै प्रकारको तालिम नदिने नीतिअनुरुप हरेक वर्ष नयाँ–नयाँ सिपका तालिम प्रदान गर्दै आएको छ। हालसम्म झोला बनाउने, अचार बनाउने, धूप तथा गुडिया बनाउने तालिम सम्पन्न भइसकेका छन्।
तालिम प्राप्त महिलाहरूलाई परामर्श र सहयोग आगामी पाँच वर्षसम्म निरन्तर प्रदान गरिने जनाइएको छ। यसबाट महिलाको आत्मनिर्भरता, उद्यमशीलता र सामाजिक भूमिका थप सबल हुने विश्वास लिइएको छ।
बेलकोटगढीको यो अभ्यास महिला सशक्तीकरणको क्षेत्रमा अनुकरणीय उदाहरण बन्न सक्छ, जहाँ सिप, सीपको प्रयोग र बजारको पहुँचलाई समानान्तररूपमा जोडिएको छ।