फलामे संरचनाभित्रको हरियाली सम्भावना: किस्पाङका तामाङ दिदीभाइको गोलभेडा टनेल



• भरतसन्तोषी लामा

नुवाकोट,जेठ ३०– किस्पाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा लागू गरेको चक्लावन्दी खेती प्रवर्द्धनका लागि ५० प्रतिशत अनुदान कार्यक्रमले कृषकहरुको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन थालेको छ। सोही कार्यक्रमअन्तर्गत अनुदान प्राप्त गरी करिब ३ रोपनी जग्गामा फलामे संरचनाभित्र गोलभेडा खेती गर्दै आएका विवी माया तामाङ र खोलमान तामाङ अहिले गाउँमै आत्मनिर्भर बन्ने बाटोमा छन्।

तामाङ दिदीभाइले आधुनिक टनेल प्रविधिको प्रयोग गर्दै गोलभेडा खेती थालेका हुन्। खोलमान तामाङ खासगरी जडिबुटी नर्सरी तथा खेतीका अनुभवी र सकृय कृषक समेत हुन । स्थानीय वनस्पतिहरुमा आधारित आयआर्जन र जैविक विविधताको संरक्षणमा उनको लगाव उल्लेखनीय छ।

गोलभेडा खेतीमा देखिएको सफलताको पछाडि आधुनिक प्रविधिको प्रयोग, लगनशीलता र गाउँपालिकाको अनुदान सहयोग छ। हालै कृषि प्राविधिक ज्ञानेन्द्र गिरीले तामाङ दिदीभाइको टनेल खेतमा पुगेर गोलभेडामा देखिएका रोगको पहिचान र रोकथामका उपायबारे प्राविधिक सेवा प्रदान गरे ।

“पहिला हामी गोलभेडा बिरामी हुँदा के गर्ने भन्ने थाहा हुन्नथ्यो, अब गिरी सर आउनुभयो, हाम्ले ठूलो राहत पायौं,” खोलमान तामाङले भने। उनका अनुसार टनेल प्रविधिबाट सिजन बाहिर पनि उत्पादन गर्न सकिने भएकाले बजार मूल्य राम्रो पाइन्छ।

खोलमानले सञ्चालन गर्दै आएको जडिबुटी नर्सरी र दिदीभाई मिलेर गरिएको गोलभेडा खेती किस्पाङमा नमुना परियोजनाको रुपमा विकास हुँदै गएको छ। उनीहरुको सफल अभ्यासले गाउँका अन्य कृषकलाई पनि व्यावसायिक कृषितर्फ आकर्षित गरिरहेको छ।

गाउँपालिकाले कृषकको सीप अभिवृद्धि, प्राविधिक सघाउ र अनुदान कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। यस्ता पहलहरूले किस्पाङमा हरियाली सम्भावनाको नयाँ ढोका मात्र खोलेका छैनन्, युवाहरुको कृषिमा फर्किने चाहनालाई समेत बल दिएको छ।

प्रतिक्रिया दिनुहोस्