अमेरिका जाने रहरमा ठगीको जालो : नुवाकोटका राजकुमार पक्राउ

काठमाडौं,जेठ ३०– अमेरिका पठाउने प्रलोभन देखाएर झण्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति नुवाकोटको विदुर नगरपालिका–४ निवासी ५१ वर्षीय राजकुमार मानन्धर हुन्। हाल काठमाडौं महानगरपालिका–१६ मा बसोबास गर्दै आएका मानन्धरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार मानन्धरले अमेरिका पठाइदिने भन्दै तीन जना व्यक्तिबाट जम्मा ४९ लाख ९७ हजार रुपैयाँ असुलेका थिए। तर, रकम लिएर उनी लामो समयदेखि फरार थिए। पछि पीडितहरू प्रहरीको सम्पर्कमा पुगेपछि अनुसन्धान थालिएको थियो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार मानन्धरविरुद्ध वैदेशिक रोजगार विभागमा ३५ लाख ६९ हजार रुपैयाँ बिगोको मुद्दा दर्ता गरिएको छ। त्यस्तै, थप १८ लाख २४ हजार रुपैयाँ ठगीसम्बन्धी अर्को मुद्दामा पनि पक्राउ पुर्जी जारी भएको छ।