लिखु गाउँपालिकाको चौघडा स्वास्थ्य चौकी नुवाकोट जिल्लामै प्रथम

नुवाकोट,जेठ ३०— स्वास्थ्य चौकीहरूका लागि निर्धारण गरिएको न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनमा नुवाकोट जिल्लाको लिखु गाउँपालिका-४ स्थित चौघडा स्वास्थ्य चौकीले जिल्लाभरिका १२ वटै स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरू मध्ये ९७% अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यस्तै दोस्रो चतुराले स्वास्थ्य चौकी ९१%, तेस्रो सिक्रे स्वास्थ्य चौकीले ८९% अंक ल्याएको छ ।
जिल्लास्तरीय मूल्याङ्कनमा अग्रस्थान प्राप्त गर्न चौघडा स्वास्थ्य चौकीका इञ्चार्ज नवीन घटालको नेतृत्वमा स्वास्थ्य चौकी परिवार, व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं. ४ का वडाध्यक्ष प्रकाश राई, व्यवस्थापन समिति सदस्यहरू, गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत सम्पूर्ण सहकर्मीहरू, गाउँपालिका नेतृत्व तथा जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीसहित सम्पूर्ण जनस्वास्थ्य परिवारको उल्लेखनीय योगदान रहेको बताइएको छ।
स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्टता कायम गर्दै जिल्लामै नमुना बन्न सफल चौघडा स्वास्थ्य चौकीको यस उपलब्धिका लागि लिखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरसिंह रावतले धन्यवाद तथा आभार व्यक्त गरे ।