“समावेशी, संयमित र जिम्मेवार राजनीतिमा कांग्रेस अघि बढ्छ” – महामन्त्री गगन थापा

सुनसरी,जेठ ३० । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसले समावेशी सिद्धान्तअनुसार संयमित र जिम्मेवार भएर राजनीति गर्ने स्पष्ट धारणा व्यक्त गरेका छन् ।
शुक्रवार नेपाल तामाङ सङ्घ कोशी प्रदेशद्वारा इटहरीमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस उत्तेजना र निषेधात्मक राजनीति भन्दा समावेशी, संयमित र दायित्वबोधसहितको राजनीतिको मार्गमा अघि बढ्ने बताए ।
जातीय वा धार्मिक आधारमा उत्तेजना फैलाउने र त्यसबाट लाभ लिने प्रवृत्तिबाट सबैले टाढा रहनुपर्ने उल्लेख गर्दै उनले समुदायबीच समन्वय, सहकार्य र सद्भावपूर्वक सहअस्तित्व कायम गर्नुपर्नेमा जोड दिए।
संविधान संशोधनको विषयमा उनले सबैको सहमतिमा मात्रै संशोधन हुन सक्ने बताउँदै प्रमुख राजनीतिक दलहरू—जस्तै एमाले, माओवादी केन्द्र लगायतसँग संवाद र छलफलको आवश्यकता औँल्याए। उनले संविधान संशोधनबाट कुनै समुदायको अधिकार कम नहुने, बरु अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
महामन्त्री थापाले तामाङ समुदायको ऐतिहासिक योगदानको कदर गर्दै त्यस समुदायको समुन्नतिको लागि नेपाली कांग्रेसले सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।