किस्पाङको भाल्चेमा गृहिणी महिलालाई स्ट्रबेरी खेती तालिम, सशक्तिकरणमा जोड



नुवाकोट,जेठ ३१ — गृहिणी महिलाहरूलाई आर्थिक र सामाजिक रूपले सक्षम बनाउने लक्ष्यसहित किस्पाङ गाउँपालिका-१, भाल्चेमा १५ दिने सीप विकास तालिम सम्पन्न गरिएको छ।

“सुसस्कृत, समतामूलक र समृद्ध किस्पाङ” भन्ने नारासहित जेठ १६ गतेदेखि सुरु गरिएको तालिम गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो। तालिममा सहभागी महिलाहरूलाई स्ट्रबेरी खेतीको व्यावसायिक सम्भावनाबारे विस्तृत जानकारी दिइएको थियो।

तालिममा स्ट्रबेरी खेतीको प्रविधि, रोग नियन्त्रणका उपाय, मल व्यवस्थापनदेखि बजार पहुँचसम्मका विषयमा प्राविधिकहरूले सहजीकरण गरेका थिए। सहभागी महिलाहरूले उक्त तालिमले आफूहरूलाई उद्यमशील बन्ने आत्मविश्वास दिएको प्रतिक्रिया दिएका छन्।

स्थानीय तहको पहलमा सञ्चालित यो कार्यक्रम महिलाहरूको आर्थिक आत्मनिर्भरता र सीप विकासतर्फको महत्वपूर्ण पाइलाका रूपमा हेरिएको कृषि प्राविधिक ज्ञानेन्द्र गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्