शिवपुरीमा कर शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नुवाकोट,जेठ ३१ । शिवपुरी गाउँपालिका, नुवाकोटको आयोजनामा कर शिक्षा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिका सभाहल, सेराबगरमा आयोजित कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्दप्रसाद थपलिया प्रमुख अतिथि रहेका थिए भने कार्यक्रम उपाध्यक्ष बीरबहादुर तामाङको अध्यक्षतामा सञ्चालन गरिएको थियो।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, वडा नं. १, २, ३, ४, ७ र ८ का वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, आठै वटै वडाका सचिवहरु, सरोकारवाला व्यक्ति, सुरक्षाकर्मी, पत्रकार तथा गाउँपालिकाका विभिन्न शाखाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रशिक्षण सत्रमा राजस्व तथा कर प्राप्त हुने विभिन्न क्षेत्रहरुको पहिचान गराउँदै कर प्रणालीप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो। आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको सुरुआतको सन्दर्भमा आयोजना गरिएको यस कार्यक्रमलाई प्रभावकारी भन्दै सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।
गाउँपालिका अध्यक्ष थपलियाले स्थानीय तहमा राजस्व संकलन र पारदर्शिता अभिवृद्धिमा यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे।