बिदुरमा नवजात बालबालिकालाई पोषण सामग्री तथा नगद प्रोत्साहन वितरण



नुवाकोट,जेठ ३१ । बिदुर नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत वडा स्तरीय बालबालिका प्रोत्साहन कार्यक्रम अन्तर्गत वडा नम्बर ४ मा नवजात शिशुहरूलाई पोषण सामग्री तथा नगद प्रोत्साहन वितरण गरिएको छ।

कार्यक्रम अन्तर्गत वडा नम्बर ४ भित्रका स्थायी नागरिकका आर्थिक वर्ष २०८१/०८२ मा जन्मेका बालबालिकालाई पोषण खर्च स्वरूप प्रतिशिशु रु. १,००० नगद उपलब्ध गरिनुका साथै एक थान झुल, एक थान रुमाल र चार थान डिटोल साबुन प्रदान गरिएको हो।

वडा अध्यक्ष निलम बाबु ढुङ्गेलको विशेष पहलमा सञ्चालित उक्त कार्यक्रमको एक समारोहका बीच अध्यक्ष ढुङ्गेलले आफैं बालबालिकाका अभिभावकहरूलाई सामग्री र नगद हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष ढुङ्गेलले वडाले बालमैत्री समाज निर्माणका लागि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

उनले जन्मेदेखिनै बालबालिकाको पोषण, स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै, स्थानीय सरकारको यस्ता कार्यक्रमले आम नागरिकमा चेतना जगाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा वडा सचिव, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय अभिभावक तथा अन्य सरोकारवालाको समेत उपस्थिति रहेको थियो। सहभागी अभिभावकहरूले वडा कार्यालयको यो पहलप्रति आभार व्यक्त गरेका थिए।

यस कार्यक्रमले शिशु स्वास्थ्य सुधार, सरसफाइ र अभिभावकमा बालअधिकारप्रति सचेतना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्