क्रोएसिया लैजाने भन्दै ठगी गर्ने नुवाकोटकी महिला काठमाडौंबाट पक्राउ



नुवाकोट,जेठ ३१। वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने एक महिला प्रहरीको फन्दामा परेकी छिन्।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–१० स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१४ मा बसोबास गर्दै आएकी ४६ वर्षीया चन्द्रकुमारी तामाङ रहेकी छन्।

उनी क्रोएसिया लैजाने प्रलोभन देखाई लामो समयसम्म झुक्याएर सम्पर्कविहीन बनेपछि पीडितहरूले जाहेरी दिएका थिए। त्यसकै आधारमा उनलाई जेठ २९ गते बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानपछि उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्