विदुरमा छाडा कुकुरको व्यवस्थापन अभियान, ७७ कुकुरको बन्ध्याकरण



नुवाकोट,जेठ ३१ । विदुर नगरपालिका–शहरी क्षेत्रमा बढ्दो छाडा कुकुरको संख्या नियन्त्रण तथा रेविज रोगको रोकथामका लागि बन्ध्याकरण तथा खोप शिविर कार्यक्रम सञ्चालनमा ल्याएको छ।

नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत जेठ २७ गतेदेखि सुरु भएको शिविर असार १ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको अनुगमन नगर उपप्रमुख प्रभा बोगटीले गरेकी छिन ।

नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा ५ जनाको टोलीले हालसम्म ७७ वटा कुकुरको बन्ध्याकरण गरिसकेको छ। साझपख कुकुरलाई नियन्त्रणमा लिएर बिहान बन्ध्याकरण तथा रेविजविरुद्धको खोप लगाइन्छ, पछि खाना खुवाएर सोही स्थानमा पुनः छाड्ने गरिएको छ।

नगरपालिकाले शिविर अवधिभरमा कुल ११२ वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखेको छ। यस अभियानले कुकुरको संख्या नियन्त्रणसँगै जनस्वास्थ्य र शहरी व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्