देशभर आंशिकदेखि साधारण बदली, भारी वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ —हाल देशभर आंशिकदेखि साधारणतया बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ भने पश्चिम नेपालमा पश्चिमी र स्थानीय वायु सक्रिय रहेका छन्।
गण्डकी प्रदेशका केही स्थानमा, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका केही स्थान र बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।
शनिबार दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहनेछ। कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य स्थानका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको पनि सम्भावना छ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र अन्य क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
आज राति पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
त्यस्तै, कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, उच्च–पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।