नुवाकोटको कुमारी फाँट : सयपत्री फूलको बहारले छर्दैछ समृद्धिको उज्यालो



नुवाकोट,जेठ ३१ । नुवाकोटको बेलकोटगढी नगरपालिका–२ स्थित कुमारी फाँटमा यस सिजन गरिएको सयपत्री फूलको खेतीले खेत मात्र नभई समृद्धिको पनि चित्र कोरेको छ। हरियाली फाँटमा फक्रिएका रंगीचंगी फूलहरूले क्षेत्रको प्राकृतिक सौन्दर्यमा नयाँ रौनक थपेका छन्।

मध्यपहाडी भू–भागमा फैलिएको कुमारी फाँटले उत्पादनसँगै पर्यटकीय सम्भावनाको पनि संकेत दिएको छ। खेतमा फूल फुल्दाको दृश्य हेर्दा यहाँको माटोले अन्न मात्र होइन, आशा र सम्भावनाको पनि उत्पादन गरिरहेको अनुभूति हुन्छ।

स्थानीय कृषकहरूको मिहिनेत र समर्पणले सजिएको यो फाँट आज सौन्दर्य र श्रमको संगम बनेको छ। आगन्तुकका लागि लोभलाग्दो दृश्य प्रस्तुत गर्ने सयपत्री फूल खेतीले किसानहरूमा आत्मविश्वास बढाएको छ।

सयपत्री फूलमार्फत आत्मनिर्भरता, रोजगारी र कृषि पर्यटनको सम्भावना बोकेको कुमारी फाँटको सफलताले अन्य पहाडी क्षेत्रका किसानहरूलाई पनि प्रेरणा दिएको छ।

गत वर्षदेखि सुरु गरिएको यो फूल खेती यसपालि ५० रोपनी क्षेत्रफलमा विस्तार गरिएको वडा नम्बर २ का अध्यक्ष रामचन्द्र तिमिल्सिनाले जानकारी दिए। स्थानीय कृषकहरूको सहकार्यमा चाउथे खोलानजिकको फाटापौवामा भाडामा लिएको जमिनमा यो खेती गरिएको हो।

काठमाडौं तथा पोखराबाट समेत सयपत्री फूलको माग आइरहेको व्यवसायीहरूले बताएका छन्। राजधानी सिँतापाइलादेखि करिब २३ किलोमिटर दूरीमा रहेको कुमारी फाँटको यो सफलताले नुवाकोटलाई कृषि पर्यटनको सम्भाव्य गन्तव्यको रूपमा चिनाउन थालेको छ।

प्रतिक्रिया दिनुहोस्