निजी विद्यालय निषेध सम्भव छैन : मन्त्री पन्त

काठमाडौं,जेठ ३१ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयलाई निषेध गरेर अघि बढ्न नसकिने स्पष्ट पारेका छन्।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पन्तले निजी विद्यालयहरूलाई कम्पनी वा गुठीमार्फत कडाइका साथ सञ्चालन गर्न दिने प्रस्ताव गरेका हुन्।
विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमा धारणा राख्दै उनले भने, ‘निजी क्षेत्रलाई निषेध गरेर जान सकिँदैन। सरकारको कडा नियमन (रेगुलेसन) अन्तर्गत निजी विद्यालयलाई ल्याउनुपर्छ। नियमहरू कडा बनाएर त्यसको परिधिमा राख्नुपर्छ।’
उनले गुठीमार्फत विद्यालय सञ्चालन गर्नेलाई कर छुटलगायत प्रोत्साहन दिने वातावरण बनाउनुपर्ने धारणा पनि राखे। ‘गुठीमा जानेहरूलाई ट्याक्स छुटदेखि लिएर अन्य सुविधा दिएर गुठी मोडेलमा जान प्रेरित गर्नुपर्छ,’ उनले भने।
मन्त्री पन्तले शिक्षक महासंघसँग २७ बुँदे सहमति भइसकेको जनाउँदै त्यसमा केही बुँदामा अझै फरक धारणा बाँकी रहेको पनि स्पष्ट पारे।