ढोरपाटनमा जिप दुर्घटनाः मृतक संख्या ४ पुग्यो, १२ घाइते



बागलुङ,जेठ ३१ — बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु बतासेडाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ।

शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१–००१ च १७७५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

ढोरपाटन नगरपालिका–२ की ७० वर्षीय नरबहादुर कार्की र ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिनुभयो।

गम्भीर घाइते ढोरपाटन–२ की २१ वर्षीया टीकाकुमारी कुँवरको पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। अर्की घाइते ७५ वर्षीया मनकुमारी थापाको शनिबार बिहान पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिप चालक गोविन्द थापा (२७), लुम्बिनी महत (१८), इन्द्रा कुँवर (२३), निरमाया खत्री (२९), देवी परियार (३८), दुर्गी दर्जी (५३), अञ्जु परियार (१२), वियानो बुढा मगर (८), विनय बुढा (५), डल्ली विक (३५), शिशिर कार्की (११) र टनमाया कुँवर (३०) घाइते भएका छन्।

घाइतेहरूमध्ये केहीको पोखरास्थित मणिपाल अस्पतालमा र अन्यको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिप सडकबाट करिब ६० मिटर तल खसेको थियो। सवारीमा १६ जना सवार थिए।

प्रतिक्रिया दिनुहोस्