नुवाकोटमा प्रियंका कार्की र दिलिप रायमाझीको ठुम्का (भिडियो)

“रैछ्यौ तिमी त गाँठे रुपैको धनी,
चानस पाए त डान्स गर्दिन्थे मनि,
लालुपाते फुलेर लाल भयो,
लगन जुराउ भन्दैमा साल गयो…”
नुवाकोट,जेठ ३१ । यिनै लयात्मक र रमाइला शब्दहरूले सुरु हुने गीतले अहिले नुवाकोटको सुर्यगढी गाउँपालिका–४ फेदीबेसीको माहोल तताएको छ। नेपाली चलचित्र ‘हली’ को यही गीतको छायांकनले फेदीबेसीलाई केही दिनका लागि चलचित्र सेटमा रूपान्तरण गर्यो।
गीतमा अभिनेता दिलिप रायमाझी र अभिनेत्री प्रियंका कार्कीको जोडीले दर्शकलाई उत्साहित बनाउने गरी नृत्य गरेका छन्। उनीहरूका साथमा पूजा शर्मा, किरण केसी र दीपाश्री निरौलाजस्ता चर्चित कलाकारहरूले पनि रमाइलो प्रस्तुति दिएका छन्।
फेदीबेसीको हरियाली, समथर फाट, खोलाको छेउ, गाउँको सादगी र साँस्कृतिक माहोलसँग मिलाएर गीतको दृश्यांकन गरिएको छ। रमाइलो भावको गीतमा नृत्य, हास्य र प्रेमका रंग मिसाइएको छ, जसले दर्शकलाई गाउँले परिवेशको स्वाद दिनेछ।
चलचित्रकी निर्मात्री जस्मिन श्रेष्ठ साझापथसंग भन्छिन्, “नुवाकोट साँच्चै सुन्दर ठाउँ हो। यहाँका मानिसहरू निकै सहयोगी र सकारात्मक हुनुहुन्छ। त्यसैले गीतको छायांकन निकै सहज र राम्रो भयो। भिडियो पनि निकै मनपर्ने खालको बनेको छ।”
ओम प्रतीक गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘हली’ चिरायू फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो। सुदूरपश्चिमको सामाजिक कथावस्तुमा आधारित यस चलचित्रले नेपाली मौलिकता र संस्कृतिको जीवन्त झल्को दिने अपेक्षा गरिएको छ।
फेदीबेसीमा खिचिएको यो गीतले चलचित्र ‘हली’ प्रति दर्शकको उत्सुकता थप बढाएको छ। ठुम्का, रमाइलो लय र लोभलाग्दो दृश्यले भरिएको यो गीत फिल्मको आकर्षणमध्ये एक बन्ने पक्का देखिन्छ।
भिडियो क्लिप:-