विदुरको कृषि उत्पादन काठमाडौँमा बजारीकरण गर्ने विषयमा छलफल



विदुर, जेठ ३१ – विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठसँग ‘कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति’को प्रतिनिधिमण्डलले भेट गरी यहाँको कृषि उत्पादनलाई काठमाडौँमा बजारीकरण गर्ने विषयमा छलफल गरेको छ।

समितिको तर्फबाट प्रशासकीय अधिकृत रमा रानाभाट, बजार सञ्चालन अधिकृत कल्पना कुमारी न्यौपानेलगायतको टोलीले नगरप्रमुखसँग भेट गर्दै विदुरमा उत्पादित तरकारी तथा फलफूलको उत्पादन, संकलन, हाटबजार सञ्चालन तथा बजार कारोबारको वर्तमान अवस्था र संभावनाका विषयमा जानकारी लिएको हो।

छलफलका क्रममा नगरप्रमुख श्रेष्ठले वडा नं २, ५ र ७ मा विभिन्न कार्यालय तथा निकायसँगको सहकार्यमा संकलन केन्द्र निर्माण भइरहेको र वडा नं ९ मा हाटबजार निर्माणको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए । उनले वडा नं ३ मा तरकारी पकेट, वडा नं ७ मा प्याज पकेट र वडा नं १३ मा अदुवा पकेट क्षेत्र रहेका जानकारी गराउँदै समितिसँग सहकार्य गरेर विदुरको कृषि उत्पादनलाई बजारीकरण गर्न सकिने प्रस्ताव गरेका थिए ।

समितिले नगरप्रमुखको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै विदुर क्षेत्रको उत्पादनलाई कालीमाटी बजारमार्फत सहजीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्