ऐन, कानून संसदले बनाउने कि संघसंस्थाले? – सांसद सुमना श्रेष्ठको प्रश्न

काठमाडौं,असार १। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले ऐन, कानून जननिर्वाचित संसदले बनाउने कि संघसंस्थाले बनाउने भन्दै प्रश्न उठाएकी छन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा बोल्दै सांसद श्रेष्ठले संघसंस्थाले ऐन बनाउने हो भने संसद र गणतन्त्रको औचित्य नै के रहने भन्दै आक्रोश व्यक्त गरिन्। “नेताहरू राजनीतिक भाषण दिन त जान्दछन्, तर कुनकुन कानूनले काम गर्छ भनेर थाहा नपाउने अवस्था छ,” उनले भनिन्।
सांसद श्रेष्ठले समितिमा भएका छलफल र सहमतिहरू कार्यान्वयनमा लैजान नसकिने हो भने त्यसको कुनै अर्थ नरहने उल्लेख गरिन्। साथै, हाल कायम रहेको विभिन्न प्रकारका शिक्षकको मानक कहाँ निर्धारण भएको छ र शिक्षकहरूको म्यापिङ के छ भनेर पटक–पटक तथ्यांक माग्दा पनि अहिलेसम्म प्राप्त नभएको गुनासो गरिन्।