भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना : ७ जनाको मृत्यु



उत्तराखण्ड,असार १ । भारतको उत्तराखण्डस्थित केदारनाथ धाम नजिकै आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक बालबालिकासहित सबै यात्रुको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

देहरादूनबाट केदारनाथ जाँदै गरेको आर्यन कम्पनीको हेलिकप्टर त्रिजुगीनारायण नजिकै, गौरीकुण्ड क्षेत्रको आकाशमा दुर्घटनाग्रस्त भएको हो। प्रारम्भिक जानकारीअनुसार खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको बताइएको छ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले एक्समार्फत घटनाप्रति दुःख व्यक्त गर्दै लेखेका छन्, “रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको धेरै दुःखद खबर प्राप्त भएको छ।” उनका अनुसार घटनास्थलमा एसडीआरएफ र स्थानीय प्रशासन उद्धारमा खटिएको छ।

जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारका अनुसार नेपाली मूलकी महिलाहरूले दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। घटनाको समयमा उनीहरू गौरीकुण्डमाथि घाँस काटिरहेका थिए र हेलिकप्टर खसिरहेको देखेपछि तुरुन्तै फोनमार्फत सूचना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्