बागमती प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

मकवानपुर,असार १ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट सार्वजनिक गर्दैछ। आइतवार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आगामी आर्थिक वर्ष मा बजेटको आकार चालू आर्थिक वर्षको तुलनामा केही बढ्ने अनुमान गरिएको छ । चालू आवको लागि ६४ अर्ब ५४ करोडको बजेट ल्याएको प्रदेश सरकारले यसपटक करिब ६५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। यथार्थपरक र खर्च गर्न सकिने बजेट ल्याइले मन्त्री काफ्लेले बताए । सूचना प्रविधिको प्रयोग विस्तार गर्ने, प्रदेशलाई आईटी हबका रूपमा अगाडि बढाउने र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा योजना कार्यान्वयन गर्ने तयारी बजेटमार्फत गरिएको उनले बताए ।
चालु आर्थिक वर्षको खर्च अवस्था भने निराशाजनक देखिएको छ। १० महिनाको अवधिमा जम्मा ३८.९१ प्रतिशत, अर्थात् २५ अर्ब ११ करोड रुपैयाँ मात्रै खर्च भएको छ। पूँजीगत खर्च ३५.०१ प्रतिशत र चालु खर्च ४६.७९ प्रतिशत रहेको छ। यसै अवधिमा लक्ष्यको ४६.८८ प्रतिशत अर्थात् ३० अर्ब २५ करोड रुपैयाँ मात्र आम्दानी भएको प्रदेश सरकारको तथ्याङ्क छ । जेठ १४ गते प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको थियो ।