नुवाकोटमा पैदल यात्रुलाई बसले ठक्कर दिँदा गम्भीर घाइते, उपचारको क्रममा मृत्यु



नुवाकोट, असार १ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गेचोकमा आइतबार बिहान सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ।

गल्छी–त्रिशूली सडकखण्डमा ढुङ्गेतर्फबाट रसुवातर्फ जाँदै गरेको ना ४ ख ४८४ नम्बरको यात्रुबाहक बसले पैदल यात्री अम्बिका भट्टलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन्। किस्पाङ गाउँपालिका–५ शान्तिबजार बस्ने अन्दाजी ५४ वर्षीया भट्टलाई दुर्घटनापछि त्रिशूली अस्पताल पुर्याइएको थियो।

पेट र दुबै खुट्टामा गम्भीर चोट लागेकी भट्टलाई जिल्ला अस्पताल नुवाकोटबाट थप उपचारका लागि ग्रिन सिटी अस्पताल लगिएको थियो। तर उपचारको क्रममा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका छन्।

दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा राखिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्