सिन्धुपाल्चोकमा इन्द्रावती गाउँपालिका ‘पूर्ण खोप सुनिश्चित’ घोषणा, जिल्लामा ९ पालिका सामेल

सिन्धुपाल्चोक,असार १ — सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले आइतबार एक विशेष कार्यक्रममार्फत ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा गरेको छ। अध्यक्ष झम्क नेपालले सबै लक्षित बालबालिकाले नियमित खोप सेवा पाएको प्रतिबद्धता जनाउँदै घोषणा गरेका हुन्।
जिल्लाका १२ स्थानीय तहमध्ये हालसम्म ९ वटा पालिकाले पूर्ण खोप सुनिश्चित घोषणा गरिसकेका छन्। पछिल्लो एक सातामा मात्रै हेलम्बु, बलेफी, त्रिपुरासुन्दरी र लिसंखुपाखरले पनि नाम लेखाएका छन्। मेलम्ची र बाह्रविसे नगरपालिका यसअघि नै सूचीमा परेका थिए।
अब बाँकी तीन पालिकामध्ये सुनकोशी गाउँपालिकाले छिट्टै घोषणा गर्ने तयारी गरिरहेको छ भने पाँचपोखरी थाङपालले चालु आर्थिक वर्षभित्रै लक्ष्य पूरा गर्ने बताएको छ। सदरमुकाम चौतारा साँगाचोकगढीमा पनि तयारी तीव्र गतिमा अघि बढिरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
खोप सेवाको विस्तारसँगै बालबालिकाको स्वास्थ्य सुरक्षामा ठुलो सफलता मिलेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। स्वास्थ्य मन्त्रालय र स्थानीय तहको लक्ष्य जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चित सूचीमा पुर्याउने रहेको छ।