रामेछापमा असार लागेसँगै बर्षा, खडेरीको राहत, किसानमा आशा पलायो

रामेछाप,असार १ । लामो समयदेखि खडेरीको चपेटामा परेको रामेछाप जिल्लामा असार सुरु भएसँगै वर्षा पनि सुरु भएको छ। सदरमुकाम मन्थलीसहित जिल्लाको अधिकांश क्षेत्रमा आइतबार बिहानैदेखि सिमसिमे पानी परिरहेको छ ।
जेठ महिनामा खासै पानी नपर्दा खेतबारी सुक्खा बनेका थिए भने मकैबाली सुक्न थालेपछि किसानहरू चिन्तित बनेका थिए। तर असारको पहिलो दिन पानी पर्न थालेपछि किसानमा आशा पलाएको छ।
मन्थली नगरपालिका–९ पुरानागाउँकी कृषक सरिता श्रेष्ठ भन्छिन्, “जेठभरिको खडेरीले मकै सुक्न थालेको थियो। आज बिहानैदेखि परेको सिमसिमे पानीले बालीमा केही राहत पुगेको छ।”
आइतबार बिहान मन्थली क्षेत्रमा चट्याङसहित हल्का वर्षा भएपछि अत्यधिक गर्मीका कारण प्रभावित स्थानीय जनजीवनमा समेत शीतलता छाएको छ। स्थानीय व्यवसायी मिलन श्रेष्ठका अनुसार, “बिहान अबेरबाट पानी परेपछि मौसम शितल भएको छ। गर्मीबाट सताइएका मन्थलीबासीले राहत पाएका छन्।”
स्थानीय किसानहरू अब निरन्तर वर्षाको आशामा छन्, जसले रोपाइँ सुरु गर्न सहज बनाउनेछ। जिल्लाको हिमाली पालिका उमाकुण्ड गाउँपालिकामा आसार लागैसँगै धान रोपाइँ पनि सुरु भएको छ ।