सरकारी स्कुल मर्ज गर्नुपर्ने डा. महतको सुझाव



काठमाडौ,असार १ । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नजिकका सरकारी स्कुलहरू मर्ज (गाभ्नु) गर्नुको विकल्प नरहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व तथा व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै डा. महतले विद्यार्थीको संख्यामा लगातार गिरावट आइरहेकाले स्कुल मर्ज गर्नुपर्ने अवस्था आएको बताए । उनले विद्यार्थीलाई होस्टेलको व्यवस्था गर्दै खान र बस्ने सुविधा प्रदान गर्नु आवश्यक भएको धारणा राखे ।

पूर्वअर्थमन्त्रीसमेत रहेका डा. महतले तीन करोड रुपैयाँभन्दा कमका आयोजनामा बजेट नराख्ने कार्यविधि आफूले बनाएको स्मरण गराउँदै सोही नीति कार्यान्वयन प्रयासप्रति वर्तमान अर्थमन्त्रीलाई धन्यवाद दिए। साथै, स्रोत सुनिश्चित नभएका चार हजारभन्दा बढी आयोजना कटौती गरिएको विषयलाई पनि सकारात्मक भन्दै प्रशंसा गरे ।

सामाजिक सुरक्षा भत्ता समय सान्दर्भिक बनाउन बजेटले प्रयास गरेको उल्लेख गर्दै डा. महतले राजस्व लक्ष्य हासिल गर्न सरकारको मिहिनेत अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्