नुवाकोटको खेतमा हिलो पर्व : पञ्चकन्याको तिनघरेमा रोपाइँ उत्सव, सात हल गोरुको गडगडाहट

• भरतसन्तोषी लामा
नुवाकोट, असार १ –असारको पहिलो दिन। बिहानको हल्का लागेको कुहिरोको पहाड भत्किँदै जाँदा पञ्चकन्या गाउँपालिका–३ कात्तिकेको एक खेतमा नौलो चहलपहल थियो। खेतको भित्री डिलमा मादलको ताल बज्दै थियो, पञ्चेबाजाको घन्की खेतैभरि फैलिएको थियो, र हिलोमा रोपाइँ मात्रै होइन – उत्सव चलेको थियो।
पूर्व वडा अध्यक्षसमेत रहेका राम थापाको २१ रोपनी खेतमा आइतबार साँच्चिकै जीवन्त देखियो। सात हल गोरु खेत जोत्न व्यस्त, २१ जना रोपार हातमा धानको बिरुवा समातेर गीतको तालमा अघि बढ्दै, र ११ लाठे हिलो सम्हाल्न तल्लीन। तर यो काम मात्र होइन, संस्कृति, सौन्दर्य र सिर्जनाको संगम पनि थियो।
हिलोमाझ रमाइलो, संस्कृति र पहिचान
रोपाइँको सुरुवात पञ्चेबाजाको धुनसँगै भयो। त्यसपछि सुरु भयो – स्थानीय महिलाको समूहद्वारा गाइएको घाँसे गीत। पुराना लोक रागमा नयाँ उत्साह मिसिएको थियो। खेतका कुना–कुनामा मोबाइल,ड्रोन र क्यामेराको लेन्स घुमिरहेका थिए। रोपार मात्र होइन, दर्शक पनि झुमिरहेका थिए।
युवायुवतीबीचको हिलो छ्यापाछ्यापले उत्सवलाई झनै रमाइलो बनायो। खेतभित्रै उभिएका थुप्रै हाँसो र खुशीका स्वर – गाउँको एक साधारण रोपाइँलाई असाधारण बनाइरहेका थिए।
कृषि र पर्यटनको संगम
खेतधनी राम थापा भन्छन्, “यो सिरक खेती होइन, हाम्रा पौराणिक अभ्यास, हाम्रो पहिचान, र हाम्रो पर्यटन सम्भावनाको संगम हो। कृषि उत्सवमार्फत हाम्रो गाउँ, संस्कृति र श्रमको सौन्दर्य देखाउन खोजिएको हो।”
रोपाइँको दृश्य ‘मिलन फिल्म’ले व्यावसायिक रुपमा क्यामेरामा कैद गर्यो। यसै दृश्यलाई कृषिपर्यटन प्रवद्र्धनका लागि सामग्रीको रूपमा प्रयोग गर्ने तयारी भइरहेको छ।
लोकसंगीतको रसिलो साथ
कार्यक्रममा राष्ट्रिय तथा काठे लोकदोहोरी क्षेत्रका चर्चित कलाकारहरुको पनि उल्लेख्य उपस्थिति थियो। खेतमै दोहोरीका छोटा झल्को, तालीको गडगडाहट, र फोटोसत्रले यसलाई साँच्चै उत्सव बनाइदियो।
हिलोमय तर भविष्यको बीउ
कृषिलाई हेर्ने दृष्टिकोण बदल्ने यस्ता प्रयासहरूले गाउँको स्वरूप परिवर्तन गर्न सक्छ। काम र कला, श्रम र सौन्दर्य, अनि गाउँ र गन्तव्यबीच पुलको काम गर्न सक्छन् यस्ता पर्वहरू।
असार १ को कात्तिके नजिकै तिनघरेमा गरिएको रोपाइँ – केवल धान रोपिएको थिएन, रोपिएको थियो एक उदाहरण, कि खेती रमाइलो हुन सक्छ, पर्यटन बन्न सक्छ, र गाउँ उत्सवको थलो पनि बन्न सक्छ।