नुवाकोट जिल्लाव्यापी खुल्ला सितोरियो कराँते प्रतियोगितामा शिवपुरी डोजोकी अनुरति प्रथम



नुवाकोट,असार १ — जिल्लाको त्रिशूलीस्थित कभर्ड हलमा सम्पन्न जिल्लाब्यापी खुल्ला सितोरियो कराँते प्रतियोगितामा शिवपुरी डोजो गोजुकाई कराँते टोलीले उत्कृष्ट प्रदर्शन गर्दै समग्रमा ‘टीम फस्ट’ बन्न सफल भएको छ । टोलीबाट सहभागि खेलाडीमध्ये अनुरति कार्कीले ४५ केजी बालिका समूहमा पहिलो स्थान प्राप्त गर्दै विशेष ध्यान खिचिन्।

कार्कीले फाइनल खेलमा आत्मविश्वाससहितको प्रदर्शन गर्दै प्रतिस्पर्धीलाई पछाडि पारिन्। प्रशिक्षक सञ्जय तामाङले उनको जितलाई निरन्तर अभ्यास र मानसिक तयारीको नतिजा भनेका छन्।

अन्य स्वर्ण पदक विजेता खेलाडीहरूमा सुप्रिया तामाङ (३० केजी छात्रा), डेनियल तामाङ (३० केजी छात्र), सञ्जीव तामाङ (५० केजी छात्र), सिवास रानामगर (६० केजी छात्र) र सुरेश तामाङ रहेका छन्।त्यस्तै, केली श्रेष्ठले ३५ केजी छात्रा समूहमा र विजय तामाङले ५५ केजी छात्र समूहमा तेस्रो स्थान प्राप्त गरेका छन्।

शिवपुरी डोजोका प्रशिक्षक सञ्जय तामाङको नेतृत्वमा तयार भएको टोलीले समग्र खेलमा अनुशासन, समर्पण र टोली भावना प्रस्तुत गर्दै सबैको ध्यान तानेको थियो। अभिभावक, समर्थक तथा स्थानीय समुदायले खेलाडीहरूको सफलता र प्रयासको खुलेर प्रशंसा गरेका छन्।

प्रतियोगिता आयोजक समितिले शिवपुरी डोजोको समर्पण, तयारी र अनुशासित प्रदर्शनको प्रशंसा गर्दै आगामी दिनमा अझ ठूला स्तरको प्रतियोगितामा सफल हुने अपेक्षा व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्