शिवपुरीमा पहिलो पटक गणित शिक्षण सीप विकास तालीम सम्पन्न



नुवाकोट,असार २ — शिवपुरी गाउँपालिकामा पहिलोपटक गणित विषयको शिक्षण पेशागत सीप विकास तालीम सम्पन्न भएको छ।

गाउँपालिकाको सहकार्यमा काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसन (KUSOED) द्वारा सञ्चालन गरिएको तालीमले गणित शिक्षणलाई समय सापेक्ष र प्रभावकारी बनाउन सहयोग पुगेको सहभागी शिक्षकहरूले बताएका छन्। तालीममा सहभागी कुम्भेश्वर माध्यमिक विद्यालयका शिक्षक प्रल्हाद सिटौलाले नयाँ पद्धतिबाट गणितलाई सजिलो तरिकाले विद्यार्थीलाई बुझाउन सकिने अनुभव भएको प्रतिक्रिया दिए।

तालीम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष गोबिन्दप्रसाद थपलिया प्रमुख अतिथि रहेका थिए भने प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा सेवा क्षेत्रका विभिन्न विद्यालयका शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्